Todays Date: २०८३ जेष्ठ ११

‘रंगी’को ‘छ भने माया’ गीतमा दीलिपदेखि सलोनसम्मको नृत्य

Rangi Song Release 1

आगामी फागुन २ गतेबाट रिलिज हुने फिल्म ‘रंगी’को पहिलो गीत ‘छ भने माया’ सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गीतमा आनन्द कार्की र सुजता केसीको स्वर, दुर्गेश थापाको शब्द, संगीत र एरेन्ज तथा विमल चिनलको प्रोग्रामिङ, मिक्सिङ र मास्टरिङ छ ।

ओएसआर डिजिटलबाट सार्वजनिक गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरु सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, विशाल पहारी र उत्तम केसी फिचर्ड छन् । डान्सिङ नम्बरको गीतले मायाको कुरा गरेको छ । गीतमा सलोन र नम्रताको जोडी निकै सुहाएका छन् । संगीतकार दुर्गेशले फरक किसिमको संगीत दिएका छन् । कलाकारहरुलाई कोरियोग्राफर कविराज गहतराजले नँचाएका छन् ।

गीत रिलिज पछि संगीतकार दुर्गेशले १० वर्ष पछाडिसम्मको मेलोडीलाई ‘छ भने माया’मा समेटेको बताए । उनले गायक आनन्द कार्की जस्तो दिग्गज गायकलाई आफ्नो संगीत र शब्दमा समेट्नु आफ्नो लागि चुनौती भएको खुलाए ।
गायक आनन्द कार्कीले दुर्गेशको शब्द र संगीतमा गीत गाउने चाहना पुरा भएको बताए । गायिका सुजता केसीले आफूलाई सुन्दर गीतमा स्वर दिने अवसर दिएकोमा आभार व्यक्त गरिन् ।

फिल्मका प्रस्तुतकर्ता तथा नायक सलोन बस्नेतले आफू अष्ट्रेलियामा रहँदा यो गीत भर्चुअल माध्यममार्फत सुनेको स्मरण गर्दै एउटा राम्रो गीत दर्शकलाई दिन पाएकोमा खुशी व्यक्त गरे । निर्देशक सुरेश न्यौपाने र आफ्नो सानो प्रयासले रंगीको अवधारणा ल्याएको भन्दै उनले त्यो अहिले सार्थक बनेको बताए ।

‘डेब्यू’ नायिका नम्रता श्रेष्ठले आफूलाई विश्वास गरेर फिल्ममा लिएकोमा आभार व्यक्त गरिन् । उनले सामाजिक कथाको फिल्ममा जोडिन पाउनु र डान्सिङ नम्बरको गीतमा काम गर्न पाउनु खुशीको कुरा भएको बताइन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x