
सरोज न्यौपानेले निर्माण गरेको फिल्म ‘जेरी अन टप’को छायांकन सकिएको छ । फिल्मको ६० दिनमा हिमालपारिको जिल्ला मुस्ताङमा छायांकन सम्पन्न गरिएको निर्माणपक्षले जनाएको हो ।
नायक अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मा र केदार घिमिरेको मुख्य भूमिका रहेको यो फिल्मको अब दुईवटा गीतको छायांकन बाँकी राखेर सम्पूर्ण छायांकन सकिएको हो । यसको गीतको छायांकन भारतको दक्षिणपूर्वी सामुन्द्रीक तटीय सहर पोन्डीचेरी र अर्को गीत काठमाडौंमा खिचिने निर्माणपक्षले जनाएको छ ।
यसअघि भारतको लद्दाखमा छायांकन गरिने भनिएको एक गीतको सुटिङ भने मुस्ताङमै गरिएको छ । फिल्मको छायांकन लुक्ला र मुस्ताङमा गरिएको हो । अनन्या फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मई सुयोग गुरुङले निर्देशन गरेका हुन् ।
झण्डै ६ करोड बजेटमा निर्माण गरिएको यो फिल्मका निर्माताले हङकङको एलजी एसोसिएसनलाई अस्ट्रेलियाबाहेकको अन्तर्राष्ट्रिय वितरण अधिकार न्यूनतम सुनिश्चितता (एमजी)मा बिक्री गरेका छन् । विदेशको सबै राइटबाट लगानीको आधा रिकभर हुने हिसाब निर्माताको छ ।