
फिल्म ‘अञ्जिला’ले १३ दिनको ग्रसकलेक्सन रिपोर्ट सार्वजनिक गरेको छ ।
फागुन २९ गते रिलिज भएको यो फिल्मले चैत १३ गतेसम्म नेपालबाट ८ करोड ७ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । करिब २ करोडमा बनेको ‘अञ्जिला’ अहिले पनि उच्च अकुपेन्सीमा चलिरहेको छ ।
नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित रहेर बनेको फिल्म हो यो ।
अञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथा प्रस्तुत गरिएको यस फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।
फिल्ममा एन्जिलासँगै दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ, प्रेमकुमार श्रेष्ठ, सुनिल थापालगायतका कलाकारहरूको अभिनय रहेको छ ।
निर्देशक मिलन चाम्सले ‘अञ्जिला’को सफलताप्रति खुसी व्यक्त गरे । “नेपाली दर्शकले राम्रो फिल्म रुचाउने प्रवृत्ति फेरि प्रमाणित भएको छ । कथा, प्रस्तुतीकरण, र कलाकारहरूको उत्कृष्ट अभिनयले दर्शकलाई हलसम्म ल्याएको छ । आगामी दिनमा अझ राम्रो प्रदर्शन हुने आशा छ,” चाम्सले भने ।
‘अञ्जिला’ विश्वभरका १६ देशमा प्रदर्शनमा आउँदै छ । नेपालको प्रतिक्रिया हेरी ओभरसिज वितरकहरूले फिल्मको माग गरेको निर्देशकले बताए ।
फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठका अनुसार, फिल्मको दोस्रो सातासम्मको प्रदर्शन पनि अघिल्लो हप्ताअनुसार अपेक्षाकृत रहेको छ ।
उनले भने, “हामीले सोचेजस्तै चलचित्रले राम्रो व्यापार गरिरहेको छ । दर्शकको माया र समर्थनले हामीलाई थप हौसला मिलेको छ । अझै केही सातासम्म राम्रो व्यापार गर्ने अपेक्षा गरेका छौँ ।”