Todays Date: २०८३ जेष्ठ १२

‘लाज शरणम्’का कुपोषित बाल कलाकार विकास केसीको निधन, निर्माता र कलाकार युनिट स्तब्ध

img 0917 1

‘लाज शरणम्’ सिनेमा मा देखाइएका कुपोषित बालकको प्लटले सिनेमा हेर्नेलाई भावुक बनाएको थियो। सोही प्लटमा प्रस्तुत गरिएका बालक विकास केसीको १५ वर्षको उमेरमा कुपोषणको उपचारका क्रममा निधन भएको छ।

सिनेमाका निर्माता तथा कलाकारमध्येका एक केदार घिमिरे (पाँडे) ले आफ्नो फेसबुकमार्फत यसको जानकारी दिएका हुन्। ‘लाज शरणम्’ भित्रको तस्बिरसहित गरेको पोस्टमा उनले कुपोषणको उपचारका क्रममा नै केसीको निधन भएको जानकारी दिँदै उनको निधनमा घिमिरेले गहिरो शोक व्यक्त गरेका छन्।

उनले आफ्नो पोस्टमा केसीको जीवन बचाउन हरसम्भव कोशिस भए पनि चिकित्सकीय रूपमा सो सम्भव नभएर कान्ति बाल अस्पतालले उपचार सम्भव नभएको भन्दै फिर्ता गरेको जानकारी दिएका छन्।

‘सिनेमा लाज शरणम्’ को कथामा कुपोषित बालकको पात्रका रूपमा चित्रण गरिएका विकास के. सी. वास्तविक जीवनमा पनि कुपोषणबाट ग्रसित हुनुहुन्थ्यो। मानवीय संवेदना, व्यक्तिगत र पारिवारिक इच्छाहरू, तथा यसबाट पर्न सक्ने नकारात्मक प्रभावहरूको विश्लेषणपछि हामीले उहाँलाई सिनेमा मा समेटेका थियौँ। उहाँको उपचार र परिवारलाई सहयोग गर्ने प्रतिबद्धता अनुरूप सुटिङपछि तत्काल उहाँलाई ग्रीन सिटी अस्पताल ल्याइएको थियो। ग्रीन सिटी अस्पतालले कान्ति बाल अस्पतालमा रिफर गर्‍यो, तर कान्ति बाल अस्पतालले जटिल कुपोषणको उपचार सम्भव नभएको जनाउँदै फिर्ता गरेको थियो,’ फेसबुकमा घिमिरेले लेखेका छन्।

निधनमा दुख व्यक्त गरेका घिमिरेले आगामी दिनमा ‘नेपालबाट कुपोषण हटाउन कला क्षेत्रको दायित्व हामीले निरन्तर निर्वाह गर्नेछौँ’ भन्ने प्रतिबद्धता आफ्नो फेसबुकमा गरेका छन्।

laaj sharanam renu yogi

यस्तो छ घिमिरेले लेखेको फेसबुक पोस्ट:

कुपोषणका कारण नेपालमा अझै पनि बालबालिकाले ज्यान गुमाइरहेका छन्। विकास के. सी. प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ।

‘सिनेमा लाज शरणम्’ को कथामा कुपोषित बालकको पात्रका रूपमा चित्रण गरिएका विकास के. सी. वास्तविक जीवनमा पनि कुपोषणबाट ग्रसित हुनुहुन्थ्यो। मानवीय संवेदना, व्यक्तिगत र पारिवारिक इच्छाहरू, तथा यसबाट पर्न सक्ने नकारात्मक प्रभावहरूको विश्लेषणपछि हामीले उहाँलाई सिनेमा मा समेटेका थियौँ। उहाँको उपचार र परिवारलाई सहयोग गर्ने प्रतिबद्धता अनुरूप सुटिङपछि तत्काल उहाँलाई ग्रीन सिटी अस्पताल ल्याइएको थियो। ग्रीन सिटी अस्पतालले कान्ति बाल अस्पतालमा रिफर गर्‍यो, तर कान्ति बाल अस्पतालले जटिल कुपोषणको उपचार सम्भव नभएको जनाउँदै फिर्ता गरेको थियो।

सुटिङका क्रममा उहाँको स्याहार र परिवारको सहजताका लागि खानेकुरा, लत्ताकपडा, तथा सञ्चारका लागि मोबाइल उपलब्ध गराएका थियौँ। सिनेमा सङ्ग उहाँलाई जोड्ने, उपचारका लागि ल्याउने-लैजाने लगायत पारिवारिक दायित्व निर्वाह गर्ने काम गीतकार-संगीतकार बसन्त उदासको सहजीकरणमा सम्भव भएको थियो। तर, हाम्रो नजरमा नपरेका कति बालबालिका यसरी नै दुखद मृत्युवरण गरिरहेका होलान् भनेर कल्पना गर्न सकिन्छ।

हामीले यसो भन्नुको कारण आफूले गरेको सहयोगको महिमा गान गर्नु होइन। बरु कर्णालीको कठोर जनजीवनको वास्तविकतासँग जोडिएको यस आवश्यक विषयमा सम्बद्ध पक्षको ध्यानाकर्षण गराउन खोजेका हौँ।

वि.सं. २०६६ साल साउन १ गते जन्मनुभएका विकास के. सी. कुपोषणकै कारण २०८१ चैत १९ गते परलोक गमन गर्नुभयो। उहाँको निधनको खबरले सिनेमा क्षेत्र शोकमा डुबेको छ। यो दुःखद घडीमा स्वर्गीय के. सी. को आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ। उहाँ नेपाली सिनेमा इतिहासमा अमिट नाम बनेर रहनुहुनेछ।

बाल मृत्युदर नेपाल सरकारका लागि गम्भीर चुनौती हो। अझै पनि पोषणयुक्त खाना र सूक्ष्म पोषक तत्वको अभावका कारण कुपोषणबाट बालबालिकाले ज्यान गुमाउनु परिरहेको छ, जुन नेपालको मानव विकास सूचकांकको गम्भीर तस्वीर हो। भविष्यमा यस्तो पीडादायी खबर कसैले लेख्न नपरोस्, कसैले सुनाउन नपरोस्। सरकार तथा सम्बद्ध निकायको यस विषयमा गहिरो ध्यान जाओस् भन्ने हाम्रो अपेक्षा छ।

कर्णालीको विद्यमान दुःखलाई सिनेमा मार्फत उजागर गर्न सहकार्य गर्नुहुने कर्णालीबासी, विकास के. सी. बसोबास गर्ने गाउँका सम्पूर्ण दाजुभाइ-दिदीबहिनी तथा विकासको परिवारप्रति हामी नतमस्तक छौँ र सधैं रहनेछौँ।

नेपालबाट कुपोषण हटाउन कला क्षेत्रको दायित्व हामीले निरन्तर निर्वाह गर्नेछौँ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x