Todays Date: २०८२ बैशाख १३

२०८१ मा दर्शकले हेरे ६२ वटा नेपाली फिल्म

box office 2081 B9DuuIhIBR e1744456950671

नेपाली फिल्म क्षेत्रका लागि वर्ष–२०८१, समग्रमा सुखद रह्यो । यो वर्ष प्रदर्शन भएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बजारमा रू ४६ करोड ८० लाख (ग्रस) व्यापार गरेको तथ्याङ्क सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तरगतको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम (बक्स अफिस)’ मा छ । यही कारण विसं २०८१ लाई नेपाली फिल्मको इतिहासमा स्मरणयोग्य बनिसकेको छ ।

अन्तिम फिल्मका रूपमा ‘पिताम्बर’ र ‘कर्मा’ गत चैत २९ गतेदेखि प्रदर्शन भएको सहित यो वर्ष ‘बक्सअफिस’ को तथ्याङ्कअनुसार ६२ नेपाली फिल्म प्रदर्शन भएका छन् । यसरी स्वदेशी ६२ फिल्म प्रदर्शन हुँदा विदेशी ८४ भएका छन् । यो वर्ष नेपाली फिल्मका दर्शक उलेख्य रूपमा बढेको फिल्म वितरक तथा प्रदर्शकहरूको छाता संस्था नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले बताए ।

उनले भने, ‘यो वर्ष दसैँ र तिहारमा प्रदर्शन भएका फिल्मले दर्शकलाई फिल्म भवनमा तान्न सफल भए । स–परिवार नै फिल्म हेर्न आएको पाइयो । पारिवारिक फिल्मले दर्शक बढाउन महत्त्वपूर्ण भूमिका खेलेको जस्तो लागेको छ । यस वर्षको सफलताले आउँदो वर्ष फिल्म निर्माणमा वृद्धि हुनेछ ।’

उनले चलचित्र भवन सञ्चालक (प्रदर्शक) ले यसवर्ष १८ घण्टाभन्दा बढी काम गरेको बताए । वर्षको अन्तिममा प्रदर्शन भएका फिल्मले राम्रो सुरूआत गरेका छन् ।
यस्तै, आउँदो वर्ष विसं २०८२ को सुरूआती दिन वैशाख १ मा समग्र फिल्मको व्यापार राम्रो हुने निर्देशक पुर्नेन्दु झाको बुझाइ छ । उनले आउँदो वर्ष नेपाली फिल्मका लागि महत्त्वपूर्ण भएको बताए ।

‘यो वर्ष प्राप्त सफलताले नयाँ र पुराना दुवै फिल्मकर्मीको सक्रियता निर्माणमा बढेको छ, आउँदो वर्ष ती फिल्मकर्मीले फिल्म लिएर दर्शकसम्म आउनु हुनेछ । नयाँ दर्शकलाई आकर्षित गर्न सके आउँदो वर्ष नेपाली फिल्मले नयाँ सुरूआत गर्नेछ । यो वर्षको व्यावसायिक सफलतालाई नाघ्नु नै चुनौती देखिएको छ’, निर्देशक झाले भने ।

उनी आउँदो वर्ष विसं २०८२ ले यस वर्ष बनेको बजारको आकार बढाउन सक्नुपर्नेमा जोड दिन्छन् । आउँदो वर्ष विसं २०८२ मा ८० हाराहारीमा फिल्म प्रदर्शन हुने अनुमान फिल्मकर्मीले गरेका छन् ।

‘बक्सअफिस’ मा रहेको तथ्याङ्कअनुसार ५९ नेपाली फिल्मले कूल कमाइ रू एक अर्ब ८० करोड गरेको छ । तथ्याङ्क बाँकी रहेका तीन फिल्म ‘वसन्त’, ‘पिताम्बर’ र ‘कर्मा’ सहित प्रदर्शनरत अन्य नेपाली फिल्मको व्यापार (ग्रस) पाँच करोड भएको अनुमान फिल्मकर्मीको छ । यस कारण नेपाली बजारको आकार रू एक अर्ब ८५ करोडको हाराहारीमा पुगेको अनुमान गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Scroll to Top