Todays Date: २०८३ बैशाख २२

फागुन १ मा किन चल्दैछ फिल्म रिलिजको होड ?

image 4

नेपाली चलचित्र बजार अहिले सुस्ताएको अवस्थामा छ। यस वर्ष वैशाखमा रिलिज भएको ‘ऊनको स्विटर’ बाहेक अन्य प्रतिक्षित फिल्महरूले अपेक्षाकृत व्यापारिक सफलता हासिल गर्न सकेनन्। यस्तो पृष्ठभूमिमा आउँदै गरेका चलचित्रप्रति दर्शक र वितरक दुवैको चासो बढेको छ।

सामान्यतया, असार र साउन जस्ता महिना चलचित्र रिलिजको हिसाबले सुस्त मानिन्छन् भने दशैँतिहार जस्ता पर्वमा फिल्महरूबीचको भिडन्त निकै रोचक हुने गर्छ। यस्तै भिडन्तको तयारी अब चाँडै फागुन १ गतेका लागि पनि देखिएको छ।

हालसम्म फागुन १ मा चारवटा फिल्मले रिलिज मिति घोषणा गरिसकेका छन्— ‘डबल ट्रिपल’, ‘कल्ली’, ‘लालीबजार’ र ‘जहाजैमा’। यी सबै फिल्मले पूर्वप्रचार र कलाकारका कारण राम्रै चर्चा कमाइरहेका छन् र व्यावसायिक सम्भावना पनि देखाइएको छ। तर, एउटै मितिमा यति धेरै फिल्म प्रदर्शन हुँदा आम्दानीमा बाडफाँड हुनु स्वाभाविक छ।

अझ, बजारमा अन्य केही निर्माण टोलीले पनि यही मितिमा फिल्म प्रदर्शन गर्ने चासो देखाइरहेका छन्, जसले गर्दा प्रतिस्पर्धा अझ चर्किने सम्भावना छ।

निर्माताहरूले फागुन १ मा फिल्म रिलिज गर्न हानथाप गर्नुको मुख्य कारण लगातारका बिदाहरू हुन्। फागुन १ गते शुक्रबार परेको छ, जसपछिको शनिबार (फागुन २) र महाशिवरात्रि (फागुन ३) का बिदा छन्। त्यसपछि पनि फागुन ६ मा ग्याल्पो ल्होछार र फागुन ७ मा प्रजातन्त्र दिवस परेको छ।

एकै साता पाँच दिन बिदा परेपछि निर्माताहरूले यो समयलाई फिल्म प्रदर्शनको लागि उत्कृष्ट मौका मानेका छन्। बिदामा दर्शकको हलतर्फको आकर्षण बढ्ने भएकाले व्यापार बढ्ने आशा गरिएको हो।

नेपाली दर्शकले चाडपर्व र विशेष बिदाका समयमा हलमा गएर चलचित्र हेर्ने प्रवृत्ति राख्छन्। निर्माता र वितरक यही विश्वासमा फिल्म प्रदर्शनको मिति तय गरिरहेका छन्। तर, एउटै मितिमा चारवटा फिल्म रिलिज हुनु भने नेपाली फिल्म क्षेत्रका लागि जोखिमपूर्ण पक्ष हो। यस्तो भिडन्तले सबै फिल्मको व्यापारमा प्रतिकूल असर पार्न सक्छ।

फागुन १ मा चलचित्र रिलिजको हानथाप नेपाली फिल्म बजारमा बिदाका अवसरको फाइदा उठाउने होड हो। यद्यपि, अत्यधिक भिडन्तले व्यापारलाई नोक्सान पुर्‍याउने खतरा समेत बोकेको छ। अब हेर्न बाँकी छ— दर्शकले कुन फिल्मलाई रोज्छन् र कसले बजारमा बाजी मार्छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x