
नायक जीवन लुइँटेल नेपाल आइपुगेका छन् । उनी, शनिबार बिहान नेपाल आइपुगेका हुन् । कान्तिपुर फिल्म एकेडेमी र कान्तिपुर थिएटरको प्रस्तुतिमा साउनको ८ गतेबाट मञ्चन हुन लागेको नाटक ‘शिरीषको फूल’मा अभिनय गर्नका लागि उनी नेपाल आइपुगेका हुन् ।
कान्तिपुर फिल्म एकेडमीका सिइओ प्रकाश पुरीले जीवनलाई स्वागत गरे । नेपाल आएसँगै जीवन वर्कसपमा समेत जोडिएका छन् । उनले, नाटककी महिला पात्र सनिषा भट्टराईसँग वर्कसप गरिरहेको भिडियो पनि सार्वजनिक भएको छ ।
जीवन यो नाटकलाई लिएर निकै नै उत्साहित देखिएका छन् । करिब एक दशकपछि जीवनले आफूलाई अभिनयमा कमब्याक गराउन लागेका हुन् । आफूमा यो नाटकको कथा पढेपछि छुट्टै खालको अनुभुती भएको र काम गर्नका लागि निकै नै उत्सुक भएको जीवनले बताए ।
आफूलाई दर्शकले नाटकमा रुचाउने विश्वास जीवनको छ । नायक लुइँटेलले नाटकपछि फिल्ममा पनि आफूलाई कमब्याक गराउने तयारी गरेका छन् । अमेरिका रहँदा पनि आफूलाई केही फिल्मको अफर आएको जीवनको भनाई छ ।
एक दशक अगाडि नेपाली फिल्म क्षेत्रमा चर्चित रहेका जीवन अमेरिका हानिएपछि अभिनयबाट टाढा थिए । तर, अब उनले आफूलाई कमब्याक गराउँदै नेपाली फिल्म क्षेत्रमा सक्रिय रुपमा अगाडि बढ्ने योजना बनाएका छन् ।