Todays Date: २०८३ असार ११

मिरुना मगर : संघर्षबाट सफलता सम्मको यात्रा, आज मनाउँदैछिन् जन्मदिन

miruna

नेपाली चलचित्र उद्योगमा अहिलेकी सबैभन्दा व्यस्त नायिका मानिएकी मिरुना मगरले आफ्नो करिअर संघर्षबाट सुरु गरिन्, तर आज उनी सफलताको शिखरमा उभिएकी छन्। फिल्म ‘लालपूर्जा’, ‘रोज’, ‘साइनो’, ‘चचहुँइ’ जस्ता लगातार असफल फिल्महरूमा देखिएकी मिरुनालाई धेरैले भोलिको ब्लकबस्टर नायिका बन्छिन् भन्ने कल्पना गरेका थिएनन्। सायद उनले आफैंले पनि यति ठूलो फड्को मार्ने आशा गरेकी थिइनन्।

तर, सिने करिअरमा मोड ल्याउने फिल्म बनेको ‘कबड्डी ४’। यो फिल्म ब्लकबस्टर बनेपछि मिरुनाको लोकप्रियता र माग दुबै एकाएक बढ्न थाल्यो। त्यसपछि आएको फिल्म ‘जारी’ ले बक्स अफिसमा १७ करोड रुपैयाँभन्दा बढीको ग्रस व्यापार गर्‍यो, जसले उनको स्टारडमलाई थप उचाइमा पुर्‍यायो।

साधारणतः चार वटा फिल्म असफल भएपछि धेरै कलाकारहरू हरेस खान्छन्, तर मिरुनाले त्यो चरणलाई पार गर्दै अभिनयको निरन्तरता कायम राखिन्। उनको यो निरन्तरताले नै उनलाई आज नेपाली फिल्म क्षेत्रमा एक सशक्त उपस्थितिको रूपमा स्थापित गराएको हो।

वर्ष २०८१ को पहिलो सुपरहिट फिल्म बनेको ‘ऊनको स्विटर’ पनि मिरुनाकै अभिनय रहेको छ। यस्तै, ‘नांगो गाउँ’, ‘मनसरा’, ‘घर ज्वाइँ’ जस्ता फिल्महरू पनि दर्शकले मन पराएका छन्। यी सबै फिल्महरूले मिरुनाको करिअरलाई एकपछि अर्को सफलता दिलाइरहेका छन्।

हाल मिरुना मगर ‘जनै हराएको मान्छे’, ‘कुस्ती’, ‘जारी २’ लगायतका बहुप्रतीक्षित फिल्महरूको तयारीमा छिन्। यस्तै, उनले हालै मात्र नयाँ फिल्म ‘मैझारो’ को छायांकन सुरु गरेकी छन्। अहिलेको अवस्थामा मिरुनासँग फुर्सद नै छैन—एक फिल्मको सुटिङ सकिनासाथ अर्कोको छायांकन सुरु गर्नुपर्ने व्यस्तता छ।

आज, यही सफलताको यात्रामा रमाइरहेकी मिरुना मगर आफ्नो जन्मदिन मनाउँदैछिन्। हङकङमा जन्मिएकी मिरुना २ वर्षको उमेरमा नेपाल फर्किएकी थिइन्। उनी धरानकी हुन्, तर १२ वर्षको उमेरमा उनको परिवार बेलायत बसाइँ सरेको थियो। अभिनयको अवसर पाएपछि उनी १६ वर्षको उमेरमै नेपाल फर्किई चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन्।

आज मिरुना मगर नेपाली फिल्म क्षेत्रको एक प्रेरणादायी नाम बनिसकेकी छन्। जन्मदिनको यो विशेष अवसरमा उनलाई धेरै-धेरै शुभकामना!

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x