
कृषा चौलागाईंले निर्देशन गर्ने चलचित्र ‘जहाजै’बाट अभिनेता सौगात मल्ल बाहिरिएका छन् । चलचित्रबाट बाहिरिएसँगै सौगातले एड्भान्स रकम पनि निर्माण पक्षलाई फिर्ता दिएका छन् ।
जापान, फिलिपिन्स र नेपालमा खिचिने फिल्मका लागि मुख्य कलाकारको लाइनअप पनि लगभग तयार भइसकेको ‘जहाजैमा’मा केदारप्रसाद घिमिरे ‘माग्ने बूढा’, कार्म, जापानी फिल्ममा अभिनय गर्दै आइरहेकी फिलिपिनो अभिनेत्री रुजेल इचिमिया लगायतको अभिनय रहने पक्का भइसकेको छ । तर, फिल्ममा अनुबन्ध भएका अभिनेता मल्लले भने हात झिकेका हुन्।
सौगात स्वयंले ‘जहाजैमा’बाट आफू अलगिएको पुष्टि गरे । ‘खुट्टाको कारणले गर्दा फिल्म छाडेको हुँ । भर्खरै मेरो खुट्टाको सर्जरी भएको छ । एक महिना आराम गर्नुपर्नेछ । त्यसले गर्दा फिल्मको पात्रका लागि तयारी गर्न समय नपुग्ने भयो । त्यही भएर म सहमतिमा नै फिल्मबाट बिदा भएको हुँ,’ उनले भने । सौगातका अनुसार फिल्ममा उनले केही एक्सन दृश्य गर्नुपर्ने थियो ।
‘जहाजैमा’बाट अलगिएपछि उनले यसै साता नयाँ फिल्म ‘परालको आगो’ सम्झौता गरेका छन् । उनका अनुसार यसमा खुट्टालाई दबाब पर्ने दृश्य छैनन् । ‘यसमा मेरो एक्सन दृश्य छैन । खुट्टालाई अप्ठ्यारो नपर्ने भएकाले फिल्म साइन गरेको हुँ,’ उनले प्रष्ट पारे । दुई सातायता फिल्म ‘सिटामोल’को प्रचारमा व्यस्त रहेका उनले अब एक महिना विश्राम लिएर ‘परालको आगो’मा काम गर्नेछन् ।
यतिबेला सौगातलाई लिएर फिल्म बनाउन निर्माताहरुबीच हानाथापको अवस्था छ । उनको लाइनअपमा मात्र आधा दर्जनभन्दा बढी फिल्म छन् । प्रदर्शन मिति पर्खेर बसेका फिल्मको संख्या पनि उत्तिकै छ । यस वर्ष सबैभन्दा धेरै फिल्म नै उनको रिलिज हुने देखिन्छ । बैशाखमा ‘जार’ र जेठमा ‘जन्ते बाख्रो’सहित यस वर्ष सौगातको फिल्म रिलिजको संख्या कम्तिमा पनि ७ पुग्ने निश्चित छ ।