Todays Date: २०८२ माघ १०

केदार घिमिरे अझै ‘माग्ने बुढा’कै छायामा, फरक भूमिकामा देखाउने ‘मेकर’को इच्छा छैन

image 13

कलाकार केदार घिमिरेको परिचय ‘माग्ने बुढा’ नामसँग अटुट रूपमा जोडिएको छ। लोकप्रिय टेलिसिरियल ‘मेरी बाँस्सै’ मार्फत दर्शकमाझ चिनिएका उनी आजसम्म वास्तविक नामभन्दा सिरियलकै पात्रबाट बढी परिचित छन्। सिरियल बन्द भए पनि ‘माग्ने बुढा’को छायाँ उनलाई फिल्मी करिअरभर पछ्याइरहेको छ।

पहिलो फिल्म छ एकान छ मा नै उनी त्यही लवज र गेटअपसहित देखिए। वडा नम्बर ६ पछि बाहिरी गेटअपमा केही परिवर्तन भए पनि बोली र लवज भने उही रह्यो। मुख्य भूमिकामा अभिनय गरेको पहिलो फिल्म माग्ने राजा मा पनि उनी फेरि उही बोली र शैलीमै प्रस्तुत भएका छन्। यसले गर्दा दर्शक र समीक्षकबीच “केदारले फरक पात्रमा आफूलाई देखाउनै चाहँदैनन्” भन्ने धारणा बलियो भएको छ।

मंगलबार आयोजित पत्रकार भेटमा भने केदारले यो धारणा आफूसँग भन्दा पनि निर्माता–निर्देशकको सोचसँग जोडिएको दाबी गरे। “म नयाँ पात्र गर्न तयार छु, तर मेकरहरू त्यसमा लगानी गर्न तयार हुन्छन् कि हुँदैनन्, त्यो नै महत्त्वपूर्ण कुरा हो,” उनले स्पष्ट पारे।

केदारका अनुसार, गेटअपमा परिवर्तन गर्ने प्रयास उनले गर्दै आएका छन्। छ एकान छ मा माकल टोपी आधा खोलेर देखिएको पात्र, वडा नम्बर ६ र छक्का पञ्जा मा टोपी नै नलगाउने, छ माया छपक्कै मा पूरै फरक पहिरन अपनाउने जस्ता प्रयोग उनले गरेका छन्। “मैले सकेसम्म आफ्नोतर्फबाट फरक देखाउने कोसिस गरेको छु,” उनी भन्छन्, “तर बोली र लवज बदल्न मेकरहरू नै तयार छैनन्।”

फरक भूमिकामा देखिन खोज्दा पनि ‘माग्ने बुढा’को लवज नटुट्नुका पछाडि व्यावसायिक कारण रहेको फिल्मका निर्देशक ऋषि लामिछाने स्वीकार्छन्। उनका अनुसार, “माग्ने बुढा’को बोली र भाषा आम नेपालीले सजिलै अपनत्व महसुस गर्छन्। त्यसैले कथाको सन्देश पनि दर्शकले सजिलै बुझ्ने भएकाले यसलाई निरन्तरता दिएका हौं।” लामिछाने भन्छन्, “व्यावसायिक हिसाबले पनि यो सुरक्षित विकल्प हो।”

यद्यपि, केदारका दृष्टिमा माग्ने राजा मा आफू अघिल्ला फिल्मभन्दा धेरै फरक देखिएका छन्। “यो फिल्ममा मलाई स्टाइलिस देखाउन धेरै प्रयास गरिएको छ। मैले एकपटक त ‘म यो गर्न सक्छु’ भन्ने आत्मविश्वास पाएको छु,” उनले भने।

यसरी, ‘माग्ने बुढा’ नाम र लवज केदारको ब्रान्ड बनेको भए पनि कलाकार स्वयं फरक पहिचान बनाउन इच्छुक छन्। तर, दर्शकको अपेक्षा र निर्माता–निर्देशकको व्यावसायिक सोचबीच उनले अझै नयाँ पात्रका रूपमा पूर्ण स्वतन्त्रता पाउने कि नपाउने, त्यो भने समयले बताउनेछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x