
यस वर्षको दशैंको फूलपाती अर्थात् १३ असोजदेखि प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित फिल्म ‘बलिदान’ को टिजर सार्वजनिक गरिएको छ। श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर शनिबार सार्वजनिक गरिएको झन्डै दुई मिनेट लामो टिजरले क्रोध, बदला, न्याय र देशभक्तिका भावनामा आधारित कथा प्रस्तुत गरेको छ।
टिजरमा अन्यायविरुद्ध लड्ने साहसी पात्र समीर भट्टलाई केन्द्रीय रुपमा देखाइएको छ। निर्देशक सन्तोष सेनको निर्देशनमा बनेको यस फिल्मको सुरुवात अभिनेता विराज भट्टको ‘भ्वाइस ओभर’बाट हुन्छ, जहाँ देशको एक हिस्सा शत्रुहरूको निशानामा परेको र तिनलाई रोक्न असम्भव भएको उद्घोष सुनिन्छ। त्यही पृष्ठभूमिमा सौगात मल्ललाई मसाल बोकेर दृढ अडानका साथ प्रस्तुत गरिएको छ। अर्कोतर्फ, अर्पण थापालाई राजनीतिज्ञको भूमिकामा देखाइएको छ।
टिजरमा हेमन्त बुढाथोकीको संवाद पनि बलियो रूपमा प्रस्तुत गरिएको छ। राजसी पोशाकमा देखिएका उनले कालीमाताको चरणमा रगत चढाउँदै लामो समय बिताएको र अब जन्मसिद्ध अधिकारका रूपमा राजगद्दीमा बस्न चाहेको उद्घोष गरेका छन्। उनको यो संवादले सत्ताप्रतिको लालसालाई प्रष्ट्याउँछ।
अभिनेत्री ऋचा शर्माको संवादले टिजरलाई भावनात्मक उचाइ दिएको छ। उनी कालीमाताको मूर्तिअगाडि उभिएर भावुक मुद्रामा भन्छिन्, “के यो धर्तीमा अब त्यस्तो युगपुरुष जन्म हुन्न जसले ती राक्षसहरूको घाँटी रेटोस् ?” यही संवादसँगै समीर भट्टको प्रवेश हुन्छ र उनका दमदार एक्सन दृश्यहरू देखाइन्छन्। टिजरमा उनलाई ‘एक्सन किङ’को ट्याग दिइएको छ।
निर्देशक सेनलाई पनि टिजरमा आदिवासी पात्रको रूपमा प्रस्तुत गरिएको छ। त्यस्तै, अभिनेता प्रेम पुरी प्रहरीको भूमिकामा देखिएका छन् भने कोरियोग्राफर सुनिल क्षेत्रीलाई आदिवासी पात्रकै रूपमा प्रस्तुत गरिएको छ। यी विविध भूमिकाले फिल्ममा बहुआयामिक कथा र पात्रको उपस्थिति हुने संकेत गर्छ।
टिजर सार्वजनिक गर्दै निर्देशक सेनले ‘बलिदान’ केवल फिल्म नभई हरेक नेपाली मनमा पलाएको विद्रोहको प्रतीक भएको बताए। उनका अनुसार, “तीन वर्षको रगत–पसिना, माटोको सुगन्ध र दबिएका आवाजको पीडाबाट जन्मिएको बलिदान अब केवल फिल्म होइन, यो न्यायको विस्फोट हो।”
आसुसेन फिल्म्सको ब्यानरमा बनेको यस फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्। फिल्ममा दर्शन जीको लेखन, महेश पौडेलको छायांकन, सुजन चापागाईँको संगीत, स्टन्डर साम र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ।
पहिल्यैदेखि दर्शकमाझ उच्च हाइप कमाइसकेको ‘बलिदान’ ले बक्स अफिसमा धमाकेदार व्यापार गर्ने अपेक्षा गरिएको छ।