
जेन-जी प्रदर्शनका क्रममा भएको आगजनी तथा तोडफोडले धेरै चलचित्र हलमा क्षति पुगेको छ ।
चलचित्र संघले जेन-जी आन्दोलनका क्रममा देशभरका चलचित्र घरमा पुगेको क्षतिको विवरण संकलन थालेको छ ।
शनिबारको संघको बैठकले चार हलमा भएको आगजनी र तोडफोडबाट १७ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको हो ।
धेरै क्षति विराटनगरस्थित भाटभटेनीमा रहेको क्यूएफएक्सलाई पुगेको छ । भवन पूर्णरुपमा जलेको छ । त्यहाँभित्र रहेको हललाई मात्र १५ करोड रुपैयाँको क्षति पुगेको छ ।
गोंगबुस्थित ल्होत्से मलको भुइँतलामा रहेको आइएनआईको मल्टिप्लेक्सको टिकट काउन्टरको बुथमा गरिएको आगजनी र तोडफोडले क्षति पुगेको छ । आगजनीले ६ तलामाथि रहेको हलको उपकरणमा असर परेको छ ।
क्यूएफएक्सको भक्तपुर र बुटवलका हलको बाहिर रहेका टिकट काउन्टर पनि पूर्णरुपमा क्षतिग्रस्त भएको छ । ‘कूल १७ करोड बराबरको क्षति पुगेको छ’ चलचित्र संघका महासचिव तथा प्रवक्ता सुरेन्द्र थापाले भने ।
थापाका अनुसार, केही दिन अझै हल खुल्नेछैन । अवस्था अझै संवेदनशिल भएकाले तत्काल हल नखुल्ने उनले बताए । हल कहिले खोल्नेबारे निर्णय गर्न संघको बैठक केही दिनमा पुनः बस्नेछ । अहिले मुलुकभर १६५ फिल्म हल छन् ।