
कलाकार विल्सन विक्रम राई (तक्मे बुढा)को निर्देशनमा बनेको फिल्म ‘मैझारो’को टिजर सार्वजनिक गरिएको छ । सोमबार घटस्थापनको दिन पारेर सार्वजनिक दुई मिनेट लामो टिजरले फिल्मको कथा त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको संकेत गर्छ । फिल्मले लिम्बू समुदायको संस्कार र संस्कृतिलाई पनि कथाको महत्त्वपूर्ण हिस्सा बनाएर प्रस्तुत गरेको छ ।
अभिनेत्री मिरुना मगरको आवाजमा रहेको पालामलाई पृष्ठभूमिमा राखेर इलामको चिया बगानका मनमोहक दृश्यसँगै सुरु हुने टिजरमा अभिनेता धीरज मगरप्रति मिरुनाको अगाध प्रेम देखिन्छ । धीरज भने कुनै बाध्यताले दीया पुनसँग नजिकिएका छन् । टिजरका संवाद र दृश्यहरूले फिल्मको कथामा भावनात्मक उतारचढाव स्पष्ट देखाउँछन् ।
तक्मे प्रोडक्सन र हाइल्यान्डर क्रूको सहकार्यमा निर्माण भएको ‘मैझारो’मा धीरज, मिरुना र दीयासहित सुनिल थापा, पुस्कर गुरुङ, माओत्से गुरुङ, कविता आले, अभयराज बराल, बुद्धि तामाङ, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, विशाल लिम्बू, भूपेन्द्र लिङदेन लगायतको पनि अभिनय रहेको छ भने अभिनेता दयाहाङ राई विशेष भूमिकामा छन् ।
डिबी राई र सरिना लामा निर्माता रहेको फिल्ममा सौरभ लामाले छायांकन, मित्र डि. गुरुङको सम्पादन, अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत तथा राजेशपायल राई, झुमा लिम्बू,,मेलिना राई र अस्मिता अधिकारीको पार्श्व गायन छ । भाइटीकाको भोलिपल्ट अर्थात् कात्तिक ७ गतेबाट प्रदर्शन हुन लागेको यो फिल्ममा निर्देशक राई स्वयंको कथा तथा पटकथा लेखन छ ।