Todays Date: २०८२ माघ ११

‘बलिदान’मा मनोरञ्जनसँगै देश र आमाप्रतिको माया झल्किन्छ’

image 14

नेपाली फिल्म उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको फिल्म ‘बलिदान’ का निर्देशक तथा निर्माता सन्तोष सेनले फिल्मप्रतिको आफ्नो अटुट विश्वास व्यक्त गरेका छन्। उनले यसलाई केवल मनोरञ्जनको साधन नभई देशभक्ति र आमाप्रतिको कर्तव्य बोधको अभिव्यक्ति भएको बताएका छन्।

“हामीले उठाएको विषयवस्तुलाई पर्दामा उतार्न निकै कठिन थियो। लामो समयको धैर्य र परिश्रमपछि आज यो फिल्म पर्दामा आउन लागेको हो। यसको प्रमुख आधार भनेकै देशप्रतिको र आमाप्रतिको माया, ममता र कर्तव्य हो,” निर्देशक सेनले बताए, “फिल्मलाई सफल बनाउन कलाकारहरूको प्रस्तुति अत्यन्त महत्त्वपूर्ण छ। हामीले प्रस्तुत गरेको कथा र दृश्यहरूले दर्शकलाई देश र आमा प्रतिको भावना झल्काउनेछन्। साथै, फिल्मले राजनीतिक कुटिलताले कसरी आम जनतालाई बहकाउँछ र प्रयोग गर्छ भन्ने सन्देश पनि दिन्छ।”

सेनले ‘बलिदान’ को मेकिङ र प्रस्तुति उच्च गुणस्तरमा भएको दाबी गर्दै भने, “हामी आमाको कोखबाट जन्मिन्छौं र मातृभूमिको काखमा हुर्कन्छौं। यी दुवै नै हाम्रो जीवनका आधार हुन्। यही आधारलाई फिल्ममा समेटिएको छ। फिल्म हेर्दा दर्शकले मनोरञ्जन मात्र होइन, काँडा उम्रिने खालको जोस र ऊर्जा पाउनेछन्।”

गत शुक्रबार सार्वजनिक गरिएको ‘बलिदान’ को ट्रेलरले नेपाली फिल्म क्षेत्रमा व्यापक चर्चा ल्याएको छ। यसअघि पोस्टर, प्रि-टिजर, टिजर र गीतमार्फत उत्सुकता बढाइसकेको फिल्मले ट्रेलरमार्फत झन् ठुलो अपेक्षा निर्माण गरेको छ। ट्रेलरमा एक आमाले छोरासँग देश र अस्मिता जोगाउने वचन माग्ने भावनात्मक दृश्य देखाइएको छ। त्यसपछि दर्शकले प्रतीक्षा गरेका अभिनेता समीर भट्टको प्रवेश हुन्छ, जसमा उनले देशप्रतिको सङ्कल्प र आमाप्रतिको ममतामा आधारित दमदार संवाद प्रस्तुत गरेका छन्। सौगात मल्ल, अर्पण थापा र महेन्द्र बुढाथोकी फरक अवतारमा देखिएका छन्। समीर र सौगातबीचको द्वन्द्व, तीव्र एक्सन दृश्य, दर्जनौँ खलनायकहरूसँगको लडाइँ, सशक्त संवाद र दमदार ब्याकग्राउन्ड स्कोरले ट्रेलरलाई उच्च स्तरमा पुर्‍याएको छ।

यसअघि सार्वजनिक भएको शीर्ष गीत ‘यो ज्यान बलिदान’ अहिले जनमानसमा लोकप्रिय बन्दै गएको छ। सुजन चापागाईंको स्वर र सङ्गीत तथा हर्क साउदको शब्दमा तयार यो गीतले देशभक्तिको भावना झन् प्रज्वलित बनाएको छ।

आशुसेन फिल्म्स प्रा. लि. को ब्यानरमा बनेको फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारहरूको दमदार अभिनय देख्न पाइनेछ। फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।

असोज १३ गते (फूलपातीको दिन) प्रदर्शनमा आउने ‘बलिदान’ लाई नेपाली फिल्म इतिहासमै साहसी कदमका रूपमा स्मरणीय बन्ने अपेक्षा गरिएको छ। निर्देशक सेनका अनुसार, यस फिल्मलाई केवल मनोरञ्जन नभई हरेक नेपालीको मनको विद्रोहको प्रतीकको रूपमा लिइन सकिनेछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x