
यही असोज २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अभिमन्यु’को नयाँ गीत ‘मरौँ ज्यानले’ सार्वजनिक गरिएको छ । विजया दशमीको अवसर पारेर दर्शकमाझ ल्याइएको यस गीतमा सुरेश बादलको शब्द रहेको छ भने सुशान्त गौतमको संगीत तथा स्वर छ । सुशान्त यो फिल्मका निर्देशक समेत हुन् ।
गीतको भिडियोमा फिल्मका मुख्य जोडी कामेश्वर चौरासिया र लक्ष्मी बर्देवाबीचको प्रेम र संघर्षलाई देखाइएको छ । बाहिर कठोर देखिने व्यक्तिको भित्री हृदय कोमल हुने सन्देश बोकेको यो गीतले प्रेममा एक–अर्काप्रतिको समर्पण र भावनात्मक सम्बन्धलाई प्रस्तुत गरेको छ । गीतले दर्शकमा प्रेमिल भावना जागृत गर्ने देखिन्छ ।
सर्वकालीन ब्लकस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को निर्माता कम्पनी सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको यो फिल्ममा कामेश्वर र लक्ष्मीसहित सरिता गिरी, किरण श्रेष्ठ, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल लगायतको अभिनय रहेको छ । सस्पेन्स-थ्रिलर विधामा आधारित यो फिल्मका क्रिएटिभ निर्देशक मदन थापा हुन् । यसमा मुकेश खनालको लेखन रहेको छ ।
‘अभिमन्यु’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माता रहेको यो फिल्मको कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । यसमा शरद महतोको डिओपी, मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन तथा मदन घिमिरेको सम्पादन छ ।