
मोडल तथा अभिनेत्री गरिमा शर्माले गत साता ‘प्रमिस रिङ’सहितको तस्वीर सार्वजनिक गर्दै आफू प्रेममा रहेको संकेत दिएकी थिइन्। त्यतिबेला उनले प्रेमीको परिचय खुलाउन चाहिनन्, जसले प्रशंसकलाई झनै उत्सुक बनायो।
उनको ‘रहस्यमय प्रेमी’बारे विभिन्न अड्कलबाजी भइरहेका बीच आइतबार बेलुका गरिमाले सामाजिक सञ्जालमार्फत औपचारिक रूपमा प्रेमीलाई सार्वजनिक गरेकी छिन्। उनले इन्स्टाग्राममा प्रेमीसँगका तीन तस्वीर पोस्ट गर्दै लेखिन् – “हामी त्यतिबेला भर्खरका केटाकेटी थियौं, अब भने केही वास्तविक बनाउँदैछौं। विद्यालयदेखिको प्रेम।”
गरिमाले नाम भने लेखिन्न्, तर कमेन्टहरूमा फ्यानहरूले ती युवकको नाम मेन्सन गर्दै बधाइ दिए। ती युवक अञ्जन पौडेल हुन्, र स्रोतका अनुसार गरिमा र अञ्जनबीच ८ वर्षदेखि प्रेम सम्बन्ध छ।
चितवन स्थायी घर भएका यी दुईले रत्ननगरस्थित स्काईराइडर कलेजमा सँगै अध्ययन गरेका थिए। अञ्जन टाँडी निवासी हुन् भने गरिमा भरतपुरकी। हाल अञ्जन अध्ययन तथा रोजगारीका लागि अष्ट्रेलियामा बस्दै आएका छन्।
म्युजिक भिडियोमार्फत चर्चामा आएकी गरिमाले फिल्म ‘लण्डन टु पेरिस’बाट नेपाली फिल्ममा डेब्यू गरेकी हुन्। अब उनले सम्बन्ध सार्वजनिक गरेपछि धेरै प्रशंसक तथा शुभचिन्तकहरूले सामाजिक सञ्जालमार्फत बधाइ र शुभकामना व्यक्त गरिरहेका छन्।