Todays Date: २०८२ माघ २८

‘द ब्लू लाइट’को प्रदर्शन स्थगित गर्ने निर्माताको निर्णय

the blue light posters

सहिद दिवसको दिन पारेर शुक्रबार (१६ माघ)बाट प्रदर्शनमा आएको फिल्म ‘द ब्लू लाइट’लाई निर्माताले हलबाट उतार्ने निर्णय गरेका छन् । सोमबार निर्माता कम्पनी स्काइफल पिक्चर्सको तर्फबाट निर्देशक बलिराम चौहानले एक विज्ञप्ति जारी गर्दै फिल्मलाई पुनः प्रदर्शन गर्ने गरी हलबाट हटाउने निर्णय भएको जानकारी गराएका हुन् ।

दर्शकबाट फिल्मलाई नेपाली फिल्मका लागि फरक, नयाँ र महत्वपूर्ण प्रयासका रूपमा मूल्याङ्कन गर्दै अझ व्यापक प्रचार-प्रसार आवश्यक रहेको सुझाव प्राप्त भएपछि आगामी दिनमा थप सशक्त तयारी र प्रभावकारी प्रचार रणनीतिसहित पुनः प्रदर्शन गर्ने योजनासहित फिल्मलाई हालका लागि हलबाट हटाउने निर्णय गरिएको चौहानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘द ब्लू लाइट’ले दर्शकबाट सुखद प्रतिक्रिया पाएको भए पनि व्यापार निराशाजनक थियो । फिल्मले प्रदर्शनको तीन दिन देशव्यापी २० प्रतिशत पनि अकुपेन्सी हासिल गर्न सकेन । आइतबारबाट फिल्मका धेरै शो गुमेपछि निर्माताले ‘फ्लप’को ट्यागबाट जोगिन चौथो दिन नै रिलिज स्थगित गरेको देखिन्छ । पछिल्लो समय फिल्म नचलेपछि विभिन्न बहानामा रिलिज रोक्ने ट्रेन्ड नै बनेको छ ।

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको यस फिल्ममा अर्पण थापा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी लगायतको अभिनय रहेको छ । भोलानाथ कटुवाल र रमन ग्रे सह-निर्माता रहेको फिल्मका कार्यकारी निर्माताहरू बेनिशा हमाल र नरेन्द्र मैनाली हुन् । बेनिशाले यो फिल्मको डिजिटल अधिकार समेत खरिद गरेकी छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x