
फिल्म ‘एक्का मिस्सी बादशाह’ को निर्माण घोषणा गरिएको छ।
सञ्जय राईको डेब्यु निर्देशनमा बन्ने फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा रहनेछिन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा निर्माण टिमले कलाकार तथा प्राविधिक टोली सार्वजनिक गर्दै फिल्मको औपचारिक घोषणा गरेको हो।
यूकेमा बस्दै आएका सञ्जय लामो समयदेखि फिल्म निर्माण र निर्देशनप्रति सक्रिय रूचि राख्दै आएका छन्। विदेशमा रहे पनि उनले फिल्म निर्माणको रूचिलाई निरन्तरता दिँदै आएका थिए।
मोहिनीदेवी राईको प्रस्तुतिमा बन्न लागेको ‘एक्का मिस्सी बादशाह’ मा साम्राज्ञीले ‘आश’ नामक पात्र निर्वाह गर्नेछिन्। निर्माण टिमले उनको बोल्ड लुक्ससहितको पोस्टर सार्वजनिक गर्दै पात्रबारे जानकारी दिएको छ।
साम्राज्ञी दुई वर्षपछि मुख्य भूमिकामा नयाँ नेपाली फिल्ममार्फत दर्शकमाझ फर्किन लागेकी हुन्। उनको पछिल्लो मुख्य भूमिका रहेको फिल्म ‘लन्डन टु पेरिस’ दुई वर्षअघि प्रदर्शनमा आएको थियो। त्यसपछि उनी ‘बर एन्ड बधु’ मा भने स्पेशल अपिरियन्स भूमिकामा मात्र देखिएकी थिइन्।
कार्यक्रममा साम्राज्ञीले आफूलाई मन पर्ने पात्र नपाएकै कारण केही समय नयाँ फिल्ममा काम नगरेको बताइन्। ‘यो फिल्मको पात्र निकै मन पर्यो, त्यसैले काम गर्न राजी भएँ,’ उनले भनिन्। सुरूमा केही अन्योल भए पनि निर्देशकले पात्रबारे विस्तृत रूपमा बताएपछि आफ्नो सोच परिवर्तन भएको उनको भनाइ थियो।
उनका अनुसार फिल्ममा आफूले निर्वाह गर्ने पात्र साहसी, बोल्ड, निडर र फरक स्वभावको छ। ‘मैले स्क्रिप्ट पढ्दा नै छक्क परेँ। निर्देशकले मेरो सोचसँग मिल्ने पात्र सिर्जना गर्नुभएको रहेछ,’ उनले भनिन्।
फिल्मको ट्यागलाइन ‘कोही जित्छन्, कोही हार्छन्, कोही बादशाह बन्छन्’ राखिएको छ। निर्देशक राईका अनुसार फिल्म युवापुस्ताको कथा, प्रेम, सम्बन्ध, सामाजिक सञ्जालको प्रभाव र जीवनका उतारचढावमा केन्द्रित हुनेछ।
‘यो अहिलेको पुस्तालाई लक्षित गरेर बनाउन लागिएको रमाइलो फिल्म हो। दुई साथीको जीवन, उनीहरूको सम्बन्ध, हुर्कँदै जाँदा आउने मोड र परिवार तथा समाजका अपेक्षाबीचको संघर्षलाई फिल्ममा प्रस्तुत गरिनेछ,’ निर्देशक राईले भने।
फिल्ममा कार्यकारी निर्माता सुदीप्ता, लाइन प्रोड्युसर एलोन गुरूङ र प्रोजेक्ट सुपरभाइजर सुपथ श्रेष्ठ छन्। नरेन्द्र मैनालीले छायांकन गर्ने फिल्ममा निकेश कार्की र रोमन बज्राचार्यको संगीत, आशिम रानाभाटको स्टाइलिङ तथा सुनिल शिवभक्तिको सम्पादन रहनेछ। छायांकन आगामी फागुनदेखि सुरू गर्ने तयारी गरिएको छ।
कार्यकारी निर्माता सुदीप्ताले ‘एक्का मिस्सी बादशाह’ आफ्नो लागि विशेष परियोजना भएको बताउँदै कार्यकारी निर्माताको रूपमा फिल्म उद्योगमा नयाँ यात्रा सुरू गर्न लागेको बताइन्।
निर्माण पक्षका अनुसार फिल्मका दुई मुख्य पुरूष पात्र ‘क्रिश’ र ‘अर्जुन’ का लागि अडिसन खुला गरिएको छ। अन्य कलाकार तथा थप विवरण भने आगामी दिनमा सार्वजनिक गरिने जनाइएको छ।