News

‘पुजार सार्की’को छायाङ्कन स्थलबाटै आर्यनको भिडियो भाइरल भएपछि तनावमा निर्माण टिम

pujar sarki
pujar sarki

छायाङ्कनमा रहेको फिल्म ‘पुजार सार्की’का अभिनेता आर्यन सिग्देलको चरित्र चित्रण हुने भिडियो सोसल मिडियामा भाइरल भएको छ । फिल्मका निर्देशक दिनेश राउतले आफूले कुनै अवसर पारी लुक्स सार्वजनिक गर्ने तयारी गरिरहेको समयमा एक्कासि भिडियो नै भाइरल भएपछि केही तनाव भएको बताए ।

निर्देशक राउतले आफूले सोचे अनुरूप सार्वजनिक गर्न नपाए पनि दर्शकले सिग्देलको लुक्सबारे चर्चा गरिरहेको देख्दा खुसी नै लागेको बताए । ‘जसरी पनि प्रचार सामग्रीहरूमा हामीले देखाउनै पर्ने थियो । योजनामा राखिएको समय अगावै भिडियो सोसल मिडियामा आएको रहेछ । आर्यनको कोही फ्यानले सेटमै खिचेर अपलोड गर्नुभएछ,’ सुटिङ सेटबाटै राउतले भने ।

२४ सेकेन्ड लामो भिडियोको युट्युब लिङ्क शेयर गर्दै अभिनेता प्रदीप खड्काले ‘पुजार लिक भयो । मैतैलाई पत्ता लगाउनुस’ भनेका छन् । पञ्चेबाजामा छमछम नाचिरहेका आर्यनले टुप्पी पालेका छन् । उनले ढाका टोपी लगाएका छन् । उनको लुक्स हेर्दा उनी पुजारीको भूमिकामा रहेको अनुमान लगाइएको छ । भिडियो फेसबुकमा पनि भेटिएको छ ।

यति बेला अभिनेता त्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गरिरहेको यो फिल्मको कास्की जिल्लाको पोखरा नजिकै पर्ने कास्कीकोटमा छायाङ्कन चलिरहेको छ । यस फिल्ममा अभिनेत्री द्वय अन्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा अभिनय गर्दैछन् ।

केही दिन अघि अभिनेता प्रदीप खड्काको जन्मदिनको अवसर पार्दै फिल्ममा उनको भूमिकाको पात्र परिचय दिने फोटो सार्वजनिक गरिएको थियो । फिल्ममा प्रदीपको नाम ‘मैत बहादुर’ रहेको खुलाइएको थियो ।

निर्देशक राउतले यो फिल्मलाई जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको बताएका छन् । यो फिल्ममा विकास सुवेदीको लेखन छ । फिल्ममा सङ्गीतकार सुवास भुसालको निर्माण छ ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments