
जेनजी आन्दोलनका क्रममा एमाले नेतृ गायिका कोमल वलीले चलाएको होटेलमा आगजनी भएको छ ।
दाङस्थित होटेलमा आगजनी भएपछि उनले जेनजीलाई प्रश्न गरेकी छन्, ‘गाउँकै ४० युवालाई रोजगारी दिएको होटेल जलाएर के गर्यौ ? ४० जनाको रोजगारी खोस्नु नै जेनजी क्रान्ति हो ?’
उनले सामाजिक सञ्जालमा भनेकी छन्, ‘जेन-जीको क्रान्ति र परिवर्तनको नाममा आएको युवाको ऊर्जामाथि गर्व गर्छु, तर सोही नाममा अरूले गरेको यो काम के साँच्चै आन्दोलनको हिस्सा हो ? के मेरो घर ध्वस्त पार्नु र होटेलमा आगो लगाउनु जेनजीको क्रान्ति हो ? ४० जना स्थानीयले पाएको रोजगारी खोस्नु परिवर्तनको मार्ग हो ? पानीको सेवा दिइरहेका इसर ट्रक र टाटा योद्धा गाडी जलाउँदा अलिकति हात काँपेनन् ।’
व्यवसायले बामे सर्दै गरेको अवस्थामा नियतवश आफ्नो पसिना, आँसु र सपना खरानी बनाइएको आरोप वलीले लगाएकी छन् ।
उनले भनिन्, ‘मैले सधैँ साथ दिएको उमेर समूह जेनजीको आन्दोलनको आवरणमा आफ्नो सपना, पसिना र आँसुमाथि जसले यसरी खरानी बनाए, उनीहरूलाई कहिल्यै भलो हुँदैन ।’
जेन जीको आन्दोलनका क्रममा शाहदत प्राप्त शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै आन्दोलनमा निर्दोषले अनाहकमा ज्यान गुमाउँदा आफ्नो छाती चिरिएको उल्लेख गरेकी छन् ।
आफूले कहिल्यै भ्रष्टाचार नगरेको र उपचार खर्चका नाममा सुविधा नलिएको भन्दै उनले आर्थिक प्रलोभनमा समेत नपरेको बताएकी छन् ।