
नायिका नीति शाहको मुख्य भूमिका रहेको फिल्म ‘खजुरे ब्रो’ वैशाखको २८ गतेबाट प्रदर्शनमा आउँदैछ। सोही फिल्म प्रचारका क्रममा गफिएकी उनी अब लामो रेसको घोडा बन्ने पक्का छ। एकपछि अर्को फिल्ममा उत्कृष्ट काम गर्दै अगाडि जाने योजनामा रहेकी उनले ‘रुखान र ज्वाइँ साब’ पनि साइन गरिसकेकी छिन् ।
एउटा राम्रो कलाकारको रुपमा चिनिने सोचमा रहेकी नीतिले भनिन्–‘खजुरे ब्रोमा मैले जुन खालको भूमिका पाएकी छु, त्यो भूमिकालाई दर्शकले मन पराउनुहुन्छ भन्ने लागेको छ । जति मैले स्क्रिन स्पेश पाएकी छु, त्यसमा सन्तुष्ट छु । मेरा आगामी दिनका फिल्ममा दर्शकले अझै बलियो भूमिका पाउनुहुनेछ ।’
बक्स अफिसको दबाब कत्तिको छ भन्ने प्रश्नमा उनले भनिन्– ‘यो फिल्म प्रचार मेरो नाम र अनुहारका कारण पनि भइरहेकाले त्यो दबाब छ । यो फिल्म चल्ने या नचल्ने भन्ने कुरा त दर्शकको हातमा छ । तर, एउटा कुरा के हो भने यो फिल्म रिलिजपछि काम गर्न लागेका अरु फिल्ममा अझै मिहिनेत गर्छु, आफ्नो बेष्ट काम गर्छु भन्ने त छ ।’
अहिले उनले एकपछि अर्को फिल्म साइन गरिरहँदा अझै केही नयाँ र उत्कृष्ट काम गर्नुपर्छ भन्ने सोचले उनको यात्रा अगाडि बढिरहेको प्रष्ट बुझ्न सकिन्छ। केहीसमय अगाडि उनले साइन गरेर छायांकन नै हुन नसकेको भएपनी उनी हिजोआज निकै व्यस्त छिन्।
त्यस्तै, फिल्म ‘खजुरे ब्रो’को बक्स अफिसलाई लिएर उनी अहिले नर्भस नै देखिएकी छिन्। उनको आफ्नै नाममाथि यो फिल्मको व्यापारिक दबाब बढेकोले गर्दा पनि बक्स अफिसका लागि महत्वपूर्ण छ ।