Todays Date: २०८३ जेष्ठ १८

नजीको पक्षमा लागेको भन्दै दिपकराज गिरीलाई धम्की

Deepak Raj Giri

कलाकार तथा निर्माता दीपकराज गिरीले आफूलाई सामाजिक सञ्जाल र फोनमार्फत धम्की आइरहेको खुलासा गरेका छन्। जेनेरेसन जी (जेनजी) को आन्दोलनलाई समर्थन गरेपछि अज्ञात व्यक्तिहरूले ‘जेनजीलाई उकास्ने तैं? कलाकार भएर जेनजी तिर लाग्ने? एक–एक हिसाब राखिन्छ’ भन्दै धम्क्याइरहेको उनले सामाजिक सञ्जालमा लेखेका छन्। उनले केही धम्कीपूर्ण फोनकल रेकर्ड पनि गरेको जनाएका छन्।

गिरीले आन्दोलनको सुरुमा भ्रष्टाचारविरुद्धको शान्तिपूर्ण प्रदर्शनलाई शुभकामना मात्र दिएको बताएका छन्। तर, दोस्रो दिन स्कुल–कलेजका बालबालिकामाथि गोली चलेको देखेपछि चुप लागेर बस्न नसकेको उनको भनाइ छ। त्यसपछि आफू र अन्य धेरै कलाकार साथीहरूले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाएको र प्रधानमन्त्रीलाई हिंसा रोक्न राजीनामा दिनसमेत अनुरोध गरेको उनले उल्लेख गरेका छन्।

आन्दोलनपछि सरकारले ढिला गरी राजीनामा दिए पनि हिंसा नरोकिएको र विभिन्न स्वार्थी समूह तथा पार्टी कार्यकर्ताहरू आन्दोलनमा मिसिएपछि तोडफोड, आगजनी र लुटपाटसम्म भएकोमा उनले दुःख व्यक्त गरेका छन्। उनले भनेका छन्, “त्यो बबण्डरले कसैलाई खुशी बनाएको थिएन, सबै नेपालीको मन भारी भएको थियो।”

आन्दोलनका क्रममा आफूहरूले निरन्तर शान्ति र संयमित हुन अपिल गरेको गिरीले बताए। जेनजीको आन्दोलन सफल भए पनि विध्वंसले कसैलाई सन्तुष्टि नदिएको उनको भनाइ छ। तर, पछिल्ला दिनमा केही व्यक्ति र समूहले सरकारपक्षीय शैलीमा ‘एक–एक हिसाब राखिन्छ’ भन्दै सामाजिक सञ्जालमै धम्कीपूर्ण पोस्ट गर्न थालेको गिरीले उल्लेख गरेका छन्।

उनले आफ्नो विगतको राजनीतिक संलग्नताबारे पनि स्पष्ट पारेका छन्। “२०४६ सालको आन्दोलनदेखि ६२/६३ को आन्दोलनसम्म म सडकमा तपाईंहरूसँगै उभिएको थिएँ। कुनै राजनीतिक लाभ लिएको छैन,” उनले भनेका छन्, “यसपालि पनि भ्रष्टाचार र सुशासनको माग उठेका कारण मात्रै समर्थन गरेको हुँ। यदि त्यो अपराध हो भने, म पनि अपराधी नै हुँ।”

अन्त्यमा, गिरीले धम्की दिनेहरू सफल भएमा आफू पनि निर्दोष भएर पीडितहरूको सूचीमा थपिने चेतावनी दिएका छन्। उनले अब सबैले आ–आफ्नो गल्ती महसुस गरी क्रान्ति–प्रतिक्रान्तिको कुरा छोडेर मुलुक पुनर्निर्माणको बारेमा सोच्नुपर्ने बेला आएकोमा जोड दिएका छन्।

यस्तो उनको स्टाटस

मलाइ आएको धम्किको कुरा ……

अस्तिको दिन बाट केहि मानिसहरूले मलाइ पनि धम्काउन थालेका छन् ! केहिले inbox मा त केहिले त कल नै गरेर !

उनिहरूको भनाइ थियो Gen -z लाइ उकास्ने तॅ? कलाकार भएर gen-z तिर लाग्ने ? एक एक हिसाब राखिन्छ, ती कलहरू मध्य केहि त रेकर्ड पनि गरेर राखेको छू !

आन्दोलनको पहिलो दिन भ्रष्टाचार बिरूद्दको आन्दोलनलाइ धैरै कलाकार लगायत मैले पनि शुभकामना दिदै भने यो शान्तिपूर्ण होस !!

दोस्रो दिन जब स्कूल ,कलेज जाने साना साना बालकहरूको टाउकोमा गोली लागेर ढलेको तस्बिर देखियो त्यो देखे पछि को नै चूप लागेर बस्न सक्यो होला र ? भोली पल्ट म मात्रै होइन मेरा लगभग सबै कलाकार साथिहरूले स्ट्याटस लेख्यौ , प्र. म . ज्यू लाइ थप violence रोक्नका लागि राजिनामा दिन अनुरोध पनि गर्यौ !कति जना त सडकमा नै गयौ , लगभग त्यतिबेला धेरै अभिभावकहरू आफ्नै बच्चा मरेको पिडाबोध गरेर सडकमा आइसकेका थिए , राजिनामा आउन ढिलो भैरहेको थियो ! त्यसपछि हिसा झन भडकियो ,यस्को फाइदा अनेक तत्वले लिन थाले , घुसपैठ भयो , लुटपाट गर्ने , आगो लगाउने मानिसहरू सक्रिय भएको देखियो अनौठौ भिडमा सरकार बिरोधी पार्टीका कार्यकर्ताको बाहुल्यता धेरै देखियो ! त्यसको प्रमाण त अहिले सामाजिक संजालहरूमा देखिन थालि पनि सकेको छ ।

राजिनामा आएपछि पनि नरोकिएको त्यो बबंडर बिरूद्द हामिले लगातार सामाजिक संजालमा पोष्ट गर्न थाल्यौ ! त्बिध्वस रोक्न कलाकारहरू र केहि राजनीतिकर्मीहरू मिलेर लगातार अनुरोध गरिरह्यौ , थुप्रै सकारात्मक पोष्टहरू गर्यौ तर त्यो रोकिएन, Gen Z को त्यो आन्दोलनले अर्कै मोड लियो , स्वार्थ समूह छिरे पछि जे भयो त्यो हामि सबैले देख्यौ , gen -Z आन्दोलन सफल त भयो तर त्यो बिध्वंसले कोहि खुशि भएनन, मन भारी भैरह्यो ! सायद कोहि नेपाली निदाएनन होला त्यो रात…. यसमा सबै पक्षको केहि न केहि गल्ति भएको छ, तर सरकार पक्षिय भनेका केहि मानिसहरू यस्को आडमा आफ्नो गल्ति महसूस गर्न छोडेर एक एक लाइ छोडिने छैन , बदला लिइनेछ भनेर स्ट्याटस नै ठोक्न थालेको देखे, मलाइ आएको कलको र म्यासेजको कुरा त गरिहाले ,

जहां सम्म मेरो कुरा छ , २०४६ सालको ठूलो आन्दोलनमा तपाइहरू संगै आन्दोलनमा सडकमा नै थिए म ,

६२/६३ मा पनि आफ्नो पेशा नै धरापमा राखेर तपाइहरूकै माग लाइ समर्थन गरेर तपाइहरूकै कित्तामा उभिएकै हो ! हरेक खाले परिबर्तनको सबालमा तपाइहरू संगै उभिएर केहि राजनीतिक लाभ नलिइकन सकारात्मक भूमिका नै निभाएको हूं! अहिले पनि केहि लोभले यो आन्दोलन लाइ समर्थन गरेको होइन , भाइ बहिनीहरू ले शुसासन र भ्रष्टाचारको मुद्दा उठाउनुभो त्यसमा समर्थन जनाइयो , जुन स्वभाबिकै थियो ,सरकारलाइ दवाव पनि दिइयो यदि यो गर्नु अपराध हो भने म बाट पनि अपराध भएकै छ !

अस्तिको आन्दोलनमा पनि सबै दोषि मात्रै दन्डित भएनन कति निर्दोष मान्छेहरू पनि victim हुन पुगेको देखेको छू , यदि तपाइहरूले धम्कि दिए जस्तै भयो भने म पनि त्यो त्यहि सूचिमा थपिनेछू भनेर चित्त बुझाउनु बाहक म संग अर्को बिकल्प छैन !

होइन भने यहां बाट सबैले आ आफ्नो गल्ति महसूस गरेर क्रान्ति प्रतिक्रान्ति र बदलाका कुरा छोडेर एकजूट भइ पुन : मूलूक निर्माणको बारेमा सोच्नु पर्ने हो कि? जय आमा नेपाल !

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x